वुमेन्स डे कप टी–२० आई सिरिजमा हङकङमाथि नेपालको सान्त्वना जित
- काठमाडौं
युगाण्डामा जारी वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले सान्त्वना जित निकालेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायो । हङकङले प्रस्तुत गरेको १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । हङकङका लागि साञ्जिन शाहजादले सर्वाधिक ५४ रन जोडिन् ।
नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दुले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १ विकेट लिए । सिरिजको आफ्नो ६ खेलमध्ये नेपालको यो दोस्रो जित हो । अब नेपालले आगामी आइतवार तेस्रो स्थानको प्लेअफ खेल्नेछ ।