खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः आर्मी र पुलिस क्लबको अपराजित यात्रा कायमै

- केएफएम डेस्ककाठमाडौं

विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेका छन् । पुलिस क्लबले मधेश प्रदेशमाथि १ सय ९३ रनको शानदार जित निकाल्दा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

दाङको लमहिमा टस जितेर सुरुवाती ब्याटिङ गरेको पुलिस क्लबले ४९ दशमलव ५ ओभरमा अल आउट हुँदै दिएको २ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा मधेश प्रदेश २६ दशमलव १ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटिएसँगै पुलिस क्लबले लगातार चौथो जित निकालेको हो । मधेश प्रदेशका लागि दिपेश दाशले ३१ रन बनाउनु बाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । मधेश प्रदेशलाई सस्तैमा समेट्ने क्रममा पुलिस क्लबका लागि ललित राजवंशीले ५, कुशल भुर्तेलले २ तथा करन केसी, सागर ढकाल र दिपेन्द्रसिंह ऐरिले समान १–१ विकेट लिए । आजको जितसँगै प्रतियोगितामा अपराजित रहेको पुलिस क्लबले ४ खेलबाट ८ अङ्क जोडेको छ ।



यसैबीच रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा भएको अर्को खेलमा तिर्थराज दासको सतकको मद्दतमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित निकालेको छ । कोशी प्रदेशको टोलीले दिएको २ सय ३१ रनको लक्ष्य आर्मीले ४७ दशमलव १ ओभरमा मात्र ३ विकेटको क्षतिमा पुरा गर्यो । आर्मीका लागि ओपनरका रुपमा मैदान प्रवेश गरेका तिर्थराजले अविजित रहँदै १ सय १२ रनको इनिङ्स खेले भने बसीर अहमदले पनि अविजित रहँदै ६१ रनको अर्धसतकीय पारि खेले । त्यसअघि कोशी प्रदेशले टस जितेर ४९ दशमलव ३ ओभरमा २ सय ३० रन बनाएको थियो । सो क्रममा आर्मीका लागि सोमपाल कामीले ४, आकाश चन्द र शाहव आलमले समान २–२ तथा कुशल मल्ले १ विकेट लिएका थिए । आजको जितसँगै आर्मी क्लबले समेत ४ खेलबाट ८ अङ्क बनाएको छ ।