खेलकुद

पीएमकप क्रिकेटमा पुलिस क्लबको लगातार पाँचौ जित

- केएफएम डेस्ककाठमाडौं

साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रनमा समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रन बनाएको थियो । जितसँगै पुलिस खेलेको ५ खेलबाट अपराजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा यथावत छ । सुदूरपश्चिम खेलेको ५ मध्ये ४ खेलमा पराजित हुँदै पुछारमा छ ।

उता, भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई ३ विकेटले हराउँदै लगातार पाँचौ जित निकालेको छ । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको एपिएफ ४२ ओभर ३ बलमा १ सय ४१ रनमा अल आउट भएको थियो । जितसँगै आर्मी ५ खेलबाट अपराजित रहँदै अंक तालिकाको दोस्रो स्थानमा यथावत छ । एपीएफ ५ खेलबाट ३ जितका साथ अंक तालिकाको चौथो स्थानमा झरेको छ ।

दाङको लमही क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई ८३ रनले हराउँदै चौंथो जित हात पारेको छ । १ सय ५९ रनको लक्ष्य पछ्याएको मधेश २६ ओभर ५ बलमा ७५ रनमा अलआउट भयो । त्यसअघि, पहिले ब्याटिङ गरेको लुम्बिनीले ४६ ओभरमा १ सय ५८ रन बनाएको थियो । जितसँगै लुम्बिनीले ५ खेलबाट ८ अंक जोडेको छ । मधेशले ४ खेलबाट २ अंक जोडेको छ ।