खेलकुद

पुलिस पीएम कप क्रिकेटको फाइनलमा प्रवेश

- केएफएम डेस्ककाठमाडौं

विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै पुलिस लगातार आठौं जित हात पार्दै फाइनल प्रवेश गर्ने पहिलो टोली बन्यो ।

१ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णालीले २४ ओभरमा अलआउट हुँदै १ सय ३ रन बनाएको हो । कर्णालीका लागि ओपनर रविन्द्र जंग शाहीले सर्वाधिक ४९ रन जोडे । कर्णालीको इनिङ धराशायी बनाउने क्रममा ललितले ९ ओभरमा ४१ रन खर्चिएका ६ विकेट लिए ।

ललित पीएम कपको इतिहासमा १ सय विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् । सन् २०१७ बाट पिएम सुरु भएयता ललितले ४० इनिङमा यो सफलता प्राप्त गरेका हुन् । पिएम कपमा आज कर्णाली प्रदेशविरुद्ध १६औं ओभरको अन्तिम बलमा कप्तान दिवान पुनको विकेट लिंदै उनले सयौं विकेट पूरा गरेका हुन् ।

पीएम कपको इतिहासमा आर्मीका शाहब आलम ९९ विकेटका साथ दोस्रो स्थानमा छन् ।

सुदूरपश्चिम प्रदेशका शेर मल्ल ६९ विकेटका साथ तेस्रो स्थानमा छन् । ललित जारी प्रतियोगितामा पनि सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । उनले ८ खेलबाट ३६ विकेट लिइसकेका छन् ।

त्यसअघि दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पुलिसले ४८ ओभरमा अल आउट हुदै १ सय ४७ रन बनाएको थियो ।

अपराजित पुलिस १६ अंकसहित शीर्ष स्थानमा छ । पुलिस लिग चरणको अन्तिम खेल बिहीवार १४ अंकसहित दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

८ खेलबाट एपिएफ १२ अंकसहित तेस्रो स्थानमा छ । आर्मी र एपिएफ मध्ये एक टोली फाइनलमा पुग्नेछ ।

उता, भैरहवाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराएको छ ।

१ सय ३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भयो ।

सुदूरपश्चिमका लागि हेमन्त धामीले सर्वाधिक १९ रन जोडे । मधेशका विशाल पटेलले ५ ओभरमा १७ रन खर्चिएर ६ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ४२ ओभर ३ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो ।

जितसँगै मधेशले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । मधेशको ८ खेलबाट ६ अंक भएको छ । सुदूरपश्चिमले ९ खेलबाट ६ हारका साथ पिएम कपको यात्रा टुंगिएको छ ।