खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा कोशीले दियो एपीएफलाई २५५ रनको लक्ष्य

- सन्जु पौडेलतिलोत्तमा

कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबलाई २ सय ५५ रनको लक्ष्य दिएको छ । बुधबार भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय ५४ रनको योगफल तयार पारेको हो । 

कोशीका लागि साकिब हकले सर्वाधिक ६८ रनको योगदान गरे । उनी ६३ बलमा ११ चौका प्रहार गर्दै अमर राउटेलाको बलमा एलबीडब्लू आउट भए । कप्तान अंकित सुवेदीले ३५, ऐश भट्टराईले ३४, सुजन थपलियाले ३३, ओपनर चिराज साहले २४ र दिपेश कँडेलले १२ रन बनाए । 

अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा एपीएफका लागि अभिषेक गौतम र मौसम ढकालले समान ३/३ विकेट लिए । गौतमले १० ओभर बलिङ गर्दै ४९ र ढकालले ५१ रन खर्चिए । 

कप्तान रोहित पौडेलले १० ओभरमा २ मेडन राख्दै ३३ रन खर्चिएर २ विकेट हात पारे । इरशाद अहमद महाागा सावित भए । उनले १० ओभरमा ५६ रन खर्चिएर एक विकेट लिए । अमर राउटेलाको नाममा एक विकेट रहृयो ।

एपीएफले अहिले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । एपीएफ ८ खेलबाट १२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । कोशीको भने अंक तालिकाको पुछारमा छ । यसअघिका ८ मध्ये सातमा पराजित कोशीको २ अंक मात्र छ । 

कोशी प्रदेशको उपाधि यात्रा समाप्त भईसकेको छ । नेपाल पुलिस क्लब अपराजित रहादै फाइनलमा प्रवेश गरिसकेको छ । पुलिस १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । 

पुलिसले लिग चरणको अन्तिम खेलमा बिहीबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । आर्मी र एपीएफ मध्ये एक टोली फाइनलमा पुग्नेछ ।