लिभरपुलको अपराजित यात्रामा ब्रेक
- काठमाडौंइंग्लिस प्रिमियर लिग फुबटलमा शीर्ष स्थानको लिभरपुलको अपराजित यात्रा टुंगिएको छ । पछिल्लो खेलमा फुलहमसँग पराजित भएपछि लिभरपुलको २६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।
क्रेभेन कटेज स्टेडियममा घरेलु टोली फुलहमले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । एलेक्सिस म्याक एलिस्टरले खेलको १४ औं मिनेटमा शानदार गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
त्यसपछि फुलहमले उत्कृष्ट पुनरागमन गर्यो । २३ औं मिनेटमा रायन सेसेन्योनले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । खेलको ३२ औं मिनेटमा एलेक्स इवोबीले गोल गर्दै फुलहमलाई २–१ को अग्रता दिलाए ।
रोड्रिगो मुनिजले ३७ औं मिनेटमा अर्को गोल गर्दै फुलहमलाई ३–१ को अग्रता दिलाएका थिए । खेलको ७२ औं मिनेटमा लिभरपुलका लुइस डियाजले गोल गरेपनि त्यो जितका लागि पर्याप्त भएन ।
यो नतिजापछि शीर्ष स्थानको लिभरपुलको ३१ खेलबाट ७३ अंक भएको छ । हारपछि पनि लिभरपुल दोस्रो स्थानको आर्सनलभन्दा ११ अंकले अगाडि छ । समान ३१ खेल खेलेको आर्सनको ६२ अंक रहेको छ । जितपछि फुलहम भने तालिकाको आठौं स्थानमा उक्लिएको छ । फुलहमले समान ३१ खेलबाट ४८ अंक जोडेको छ ।
यस्तै, लिगको अन्य खेलमा टोटेनहमले साउथ ह्याम्टनलाई ३–१ गोलले पराजित गरेको छ । म्याचेस्टर सिटीले म्याचेस्टर युनाइटेडसँग गोलरहित बराबरी खेल्दा चेल्सी पनि ब्रेन्टफोर्डसँग गोलरहित बराबरीमा रोकिएको छ ।