खेलकुद

हिमालयन शेर्पा जितपुर सिमरा गोल्डकपको फाइनलमा

- लक्ष्मी साहबारा

हिमालयन शेर्पा क्लब १५ औं जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार साँझ भएको दोस्रो सेमिफाइनलमा आयोजक नव जनजागृति युवा क्लबलाई २–१ गोलको अन्तरले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो । 

अब हिमालयन शेर्पाले उपाधिका लागि अर्को ‘ए डिभिजन’ टोली मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । हिमालयन शेर्पाले चौंथो पटक जितपुर सिमरा गोल्डकपको फाइनल खेल्दैछ । 

प्रतियोगिताको दोस्रो संस्करणको उपाधि जितेको हिमालयन शेर्पाले यसअघि चौंथो र १३ औं संस्करणको फाइनलमा पराजित हुन पुगेको थियो । हिमालयन शेर्पाको जितमा समिरराज थोकर र भारतीय खेलाडी रोबर्ट खोङजोले गोल गरे । आयोजक टिम नव जनजागृतिका सिमराका लागि युवराज खड्काले गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको आयोजकविरुद्ध दोस्रो हाफको सुरुवातमै हिमालयन शेर्पाले अग्रता बनाउन सफल भएको थियो । खेलको ४७ औं मिनेटमा रोबर्टले शानदार गोल गरे । 

५८ औं मिनेटमा हिमालयन शेर्पाका समिर राज थोकरले अर्को गोल गर्दै अग्रता दोब्बर पारे । आयोजक क्लबका लागि खेलको ७३ औं मिनटमा युवराज खड्काले सान्त्वना गोल फर्काए । 

खेलको ग्रीन इनर्जी म्यान अफ दी म्याच हिमालयन शेर्पाका रोबर्ट खोङजो भए । उनले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । प्रतियोगिताको फाइनल खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र क्लबबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।