खेलकुद

नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

- केएफएम डेस्ककाठमाडौं

नेपाल हङकङमा जारी चारदेशीय टी–२० सिरिजको फाइनलमा पुगेको छ । आज आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनल पुगेको हो ।

नेपालले टस जितेर पहिले बलिङ गरेको खेलको ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल रोकिँदै रद्द भएको हो । लिग चरणमा अपराजित नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई हराएको थियो । 

आज भएको लिगको अन्तिम खेलमा हङकङ विरुद्ध बलिङ गरिरहँदा खेल वर्षाले रद्द भयो । योसँगै नेपालले तीन खेलबाट ५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गर्यो। 

यता आजै कतारलाई पराजित गरेको कुवेतले पनि फाइनलमा स्थान पक्का गरेको छ । अब नेपाल र कुवेतबीच भोलि उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । समूह चरणमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । 

त्यसअघि कतारलाई ८ विकेटले पराजित गरेको थियो । कुवेतले समूह चरणमा हङकङ र कतारलाई पराजित गरेको थियो ।