आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले अफगानिस्तानसँग खेल्ने
- काठमाडौंनेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
काठमाडौंको तल्लो मुलपानी मैदानमा नेपाल र अफगानिस्तानबीचको खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । तर, काठमाडौं उपत्यकामा बिहानदेखि वर्षा भइरहेको कारण खेल हुने सम्भावना न्यून छ ।
नेपालले आजको खेलमा अफगानिस्तानलाई हराउन सके लगातार दोस्रो पटक आईसीसी पुरुष यू–१९ विश्वकपको लागि छनोट हुनेछ ।
दुवै टोली जित हात पार्दै विश्वकपमा स्थान बनाउने लक्ष्यमा हुनेछन् । विश्वकपको एसिया छनोटमा दुबै टोली अपराजित छ । यसअघि नेपालले ओमान, हङकङ र यूएईलाई हराउँदै तीन जित निकालेको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स यूएईलाई डीएलएस पद्दतीका आधारमा ५ रनले हराएको थियो । दोस्रो खेलमा ओमानलाई ८ विकेट र तेस्रो खेलमा हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।
अफगानिस्तानले पनि ओमान, हङकङ र यूएईमाथि फराकिलो जित निकालेका कारण नेट रनरेटमा नेपाल भन्दा अगाडि छ । आजको विजेताले आगामी वर्ष जिमबाबे र नामिबियामा हुने आईसीसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुने भएकाले यो खेल निर्णायक हुनेछ ।
यू–१९ विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । अफगानिस्तानलाई बराबरीले पनि पुग्छ । तर मूलपानीमा शुक्रबारदेखि नै वर्षा भएकाले खेल हुने सम्भावना रहेको छैन ।
मूलपानी क्रिकेट मैदान वर्षाले पूर्ण रुपमा भिजेर पानी जमेको हुनाले खेल सञ्चालन हुने सम्भावाना नै देखिएको छैन । मसिनो वर्षा अझै रोकिएको छैन ।