खेलकुद

एनएसएल फुटबलः इलिमिनेटर खेलमा चितवन पोखरासँग ३–० गोलले पराजित

- केएफएम डेस्ककाठमाडौं

नेपाल सुपर लिग फुटबलको इलिमिनेटर खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई पराजित गरेको छ । 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भएको खेलमा पोखराले चितवनमाथि ३–० गोलको जित निकालेको हो । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्दै चितवनलाई दबाबमा राखेको पोखराका लागि अभिषेक लिम्बूले ६२ औं र ७६ औं मिनेटमा दुई गोल गरे भने एक गोल चितवनले आत्मघाती गरेकोे थियो । 

आजको हारसँगै एफसी चितवनको जारी सिजनको नेपाल सुपर लिग यात्रा समाप्त भएको छ । चितवनलाई पराजित गरेको पोखरा थन्डर्स भने आजको जितसहित उच्च मनोबलका साथ क्वालिफायर २ मा पुगेको छ । क्वालिफायर २ मा मा पोखराले धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । 

सो खेलको विजेता टोलीले उपाधिका लागि ललितपुर सिटि एपसीसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएको पहिलो क्वालिफायर खेलमा धनगढीलाई हराउँदै ललितपुरले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।