खेलकुद

लुम्बिनी कप महिला फुटबलको सेमिफाइनलमा आर्मी र पुलिस भिड्दै

- रेडियो कान्तिपुर संवाददातारेडियो

बाँकेमा जारी लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल चरणको खेल आजदेखि सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा विभागीय डर्बीमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

फाइनल प्रवेशका लागि नेपालगञ्ज रंगशालामा दिउँसो तीन बजे पुलिस र आर्मी आमनेसामने हुनेछन् । पुलिसले भारतको सिलिगुढी एफसीमाथि ४–० को सहज जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । 

आर्मीले भने सुदूरपश्चिम एफसीलाई ४–० गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । दुबै टोली फाइनलमा स्थान बनाउने योजनासहित मैदान उत्रनेछ ।

यसअघि हिजो भएको खेलमा एपीएफ क्लबले कर्णाली प्रदेश फुटबल संघलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको छ । कर्णाली प्रदेश फुटबल संघलाई ६–० गोलले हराउँदै विभागीय टोली एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

नेपालगञ्जमा जारी लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागीय सहित आठ टिमको सहभागिता रहेको छ ।