खेलकुद

उपाधिका लागि ललितपुर सिटी एफसी र पोखरा थन्डर्स भिड्ने

- केएफएम डेस्क

तेस्रो संसकरणको नेपाल सुपर लिग फुटबलको उपाधिका लागि साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई अन्तिम समयमा १–० गोल अन्तरले पराजित गर्दै पोखराले ललितपुरसँगको उपाधि भिडन्त तय गरेको हो । 

निर्धारित मिति सकिएपछि थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा पोखराका लागि स्टेफन विनोङले गरेको गोल निर्णायक बन्यो । फाइनल खेल आगामी शनिबार हुनेछ । लिग चरणमा दोस्रो भएको धनगढी क्वालिफायर वानमा ललितपुर सिटी एफसीसँग २–१ ले पराजित भएसँगै क्वालिफायर टु मा पुगेको थियो । 

यद्यपि आजको खेलसँगै जारी सिजनका लागि धनगढीको नेपाल सुपर लिग यात्रा सकिएको छ । यस्तै लिगमा चौथो भएको पोखराले एलिमिनेटरमा तेस्रो भएको एफसी चितवनलाई ३–० ले पराजित गर्दै क्वालिफायर टु मा स्थान बनाएको थियो ।