खेलकुद

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर सिटी र पोखरा थन्डर्स भिड्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपाल सुपर लिग फुटबलको तेस्रो संस्करणको उपाधिका लागि साबिक विजेता ललितपुर सिटीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे ललितपुर र पोखरा आमनेसामने हुनेछन् । 

शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार रहेको र उपाधिका लागि खेल्ने बताएका छन् । प्रतियोगितामा अपराजित ललितपुर सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ । पोखरा थन्डर्स पनि लयमै छ । 

ललितपुर सिटी अनन्त तामाङको कप्तानीमा मैदान उत्रँदा पोखरा थन्डर्सको नेतृत्व नवयुग श्रेष्ठले सम्हाल्ने छन् । दोस्रो सिजन पनि ललितपुरले अनन्तकै कप्तानीमा उपाधि जितेको थियो । साविक विजेता ललितपुर फाइनलको लागि तयायी अवस्थामा छ । पोखरा पनि बलियो टिम भएकोले फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यो सिजनको एक मात्र अपराजित टोली डिफेन्डिङ च्याम्पियन ललितपुरले लिग चरणमा तीन जित र तीन बराबरीसहित शीर्ष स्थान हासिल गरेको थियो । ललितपुरले पहिलो क्वालिफायरमा धनगढीलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । 

यता पोखरा थन्डर्सको यात्रा भने उतारचढावले भरिपूर्ण छ । सिजनको सुरुआतमा लगातार दुई हारले टिमको मनोबल खस्किएको आकलन गरिए पनि त्यसपछि अप्रत्याशित पुनरागमन गर्दै दुई जित र दुई बराबरीसहित आफ्नो दाबेदारी बलियो बनाएको हो । 

इलिमिनेटरमा एफसी चितवनलाई ३–० गोलले पछि पारेको पोखराले दोस्रो क्वालिफायरमा धनगढीविरुद्ध १–० को जित हात पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । आयोजक नेपाल स्पोट्र्स एन्ड इन्भेट म्यानेजमेन्टले तेस्रो संस्करणमा प्रतियोगिताको पुरस्कार रकम वृद्धि गरेको छ । 

अघिल्लो सिजनको तुलनामा विजेता र उपविजेता दुवै टोलीले पाउने रकम १० लाख रुपैयाँले वृद्धि गरिएको हो । तेस्रो संस्करणको नेपाल सुपर लिगको विजेताले ८० लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।