राष्ट्रिय महिला भलिबलको उपाधिका लागि एपीएफ र पुलिस भिड्ने
- काठमाडौंकेएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगीताको आठौं संस्करणको उपाधिका लागि विभागीय डर्बीमा एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धाबीच हुने भएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा एपीएफ र पुलिसबीचको उपाधि भिडन्त दिउँसो २ बजे सुरु हुनेछ ।
सेमिफाइनलमा एपीएफले टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लब र पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफले पूर्वविजेता न्यू डायमन्ड स्पोट्र्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
एपीएफले न्यू डायमन्डलाई २५–१७, २५–२२, २३–२५, २५–२३ को सेटमा पराजित गरेको थियो । न्यू डायमन्ड छैटौं संस्करणको उपाधि विजेता हो । बाँकी सबै संस्करणमा एपीएफ क्लब च्याम्पियन भएको छ । दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–६, २५–२२, २५–२३ को सोझो सेटमा हराएर उपाधि यात्रा तय गरेको हो ।
तेस्रो स्थानका लागि आर्मी र न्यू डायमण्डबीच प्रतिस्पर्धा हुनेछ । राखेप कभर्डहलमा आर्मी र न्यू डायमण्डबीचको खेल बिहान ११ बजे सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्दा, दोस्रोले २ लाख ५० हजार रुपैयाँ र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक शेर बहादुर खड्का स्मृति प्रतिष्ठानले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्टलाई जनही २५ हजार रुपैयाँ दिइने छ ।
विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ दिइने छ । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक प्रतिष्ठान अध्यक्ष रञ्जन खड्काले जनाएका छन् ।
महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतिष्ठानले २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । सातौं संस्करण सकिँदा एपीएफले ६ पटक उपाधि जितेको छ भने न्यू डायमन्डले छैटौं संस्करणको उपाधि जितेको थियो ।