खेलकुद

राष्ट्रिय महिला फुटबलमा पुलिस र संकटा भिड्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले संकटा क्लबको सामना गर्ने भएको छ । 

फाइनल प्रवेशका लागि नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको मैदानमा दिउँसो चार बजे पुलिस र संकटा आमनेसामने हुनेछन् । उपाधि दाबेदार पुलिस फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ । 

संकटा पनि विभागीय टोलीको चुनौती पन्छ्याउँदै फाइनल पुग्न चाहन्छ । यसअघि संकटाले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हराएर अन्तिम चारमा स्थान बनाएको थियो । पुलिसले भने गण्डकी प्रदेशलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

अब भोलि बिहीबार हुने दोस्रो सेमिफाइनलमा एपीएफ क्लबले रौतहट जिल्ला फुटबल संघको टोलीसँग खेल्नेछ । एपीएफले पद्मा स्पोट्र्स क्लबलाई ४–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । 

रौतहटले भने मकवानपुरको रिगल रिसोर्ट एन्फालाई हराएर सेमिफाइनलमा पुगेको हो । फाइनल खेल बैशाख २० गते हुनेछ । प्रतियोगितामा तीन विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँको दरले पुरस्कृत गरिने आयोजक नुवाकोट जिल्ला फुटबल संघले जनाएको छ ।