नेपालले महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनसँग खेल्ने
- काठमाडौंनेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बहराइनबीचको खेल थाइल्याण्डको तेरथाइ क्रिकेट ग्राउण्डमा बिहान पौने ८ बजेदेखि सुरु हुने भनिए पनि अझै टस भएको छैन ।
वर्षाका कारण टसमा ढिलाई भएको हो । विश्वकप एसिया छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले हङकङसँगको अंक बाँडेको थियो ।
थाइल्यान्डमा हिजो शुक्रबारदेखि सुरु भएको क्वालिफायर खेल अन्तर्गत नेपाल र हङकङबीचको खेल बिहीबार परेको पानीले मैदान भिजेपछि टस समेत नभई रद्द भएको हो । यससँगै दुवै टोलीले समान एक/ एक अंक बाँडेका थिए ।
क्वालिफायरमा आयोजक थाइल्यान्डसहित नेपाल भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र संयुक्त अरब इमिरेट्स यूएई सहभागी छन् । जसलाई तीन समूहमा विभाजन गरिएका छन् । नेपाल रहेको समूह ‘सी’ मा हङकङ र बहराइन छन् ।
यसैगरी समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुवेत छन् । समूह ‘बी’ मा यूएई, मलेसिया र कतार छन् । नौ देश सहभागी छनोटमा हरेक समूहका टोलीले आपसमा दुई पटक खेल्नेछन् । त्यसपछि प्रत्येक समूहको शीर्ष टोलीले ’सुपर थ्री’मा स्थान बनाउनेछ ।
सुपर थ्रीमा पुगेका तीन मध्ये शीर्ष दुई टोलीले महिला टी–२० विश्वकप २०२६ को ग्लोबल छनोटमा स्थान बनाउने छन् ।