खेलकुद

साफ यू–१९ च्याम्पियनसिपमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

- केएफएम डेस्ककाठमाडौं

साफ यू–१९ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । नेपालको कप्तानी राम थापाले गर्दैछन् । टोलीको प्रशिक्षकमा उर्जन श्रेष्ठ रहेका छन् । 

नेपालले आज जित दर्ता गरे सेमिफाइनलमा स्थान पक्का गर्नेछ । नेपाल सम्मिलित समूह बी मा आयोजक भारत र श्रीलंका रहेका छन् । पहिलो खेलमा भारतले श्रीलंकालाई ८–० ले हराएको थियो । नेपालले पर्सि मंगलबार भारतको सामना गर्नेछ । 

यस्तै समूह ए मा बंगलादेश, भुटान र माल्दिभ्स छन् । दुवै समूहको शीर्ष २ टोलीले सेमीफाइनल खेल्नेछन् । नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को यू–१८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।