खेलकुद

नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै, सुपर ‘थ्री’मा स्थान बनाउने लक्ष्य

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपालले महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा आज हङकङको सामना गर्दैछ । थाइल्याण्डको तेरथाइ क्रिकेट मैदानमा नेपाली समय अनुसार मध्याह्न साढे १२ बजे नेपाल र हङकङ आमनेसामने हुनेछन् । 

डबल राउन्ड रोबिनमा भईरहेको प्रतियोगिताको पहिलो राउन्डमा यी दुई टोलीबीचको खेल वर्षाले मैदान भिजेपछि टस पनि नभई रद्द भएको थियो । नेपाल आजको खेल जित्दै एक खेल अगावै सुपर ‘थ्री’मा स्थान बनाउने लक्ष्यमा हुनेछ । 

हङकङलाई पनि सुपर ‘थ्री’मा पुग्न जित्नै पर्ने दबाब छ । नेपाल र हङकङबीचको पहिलो खेल वर्षाले रद्द हुँदा दुबै टिमले १–१ अंक बाँडेका थिए । वर्षाकै कारण ५–५ ओभरमा सीमित पारिएको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो ।

हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो । हाल ३ अंकसहित नेपाल समूह ‘सी’को शीर्ष स्थानमा छ । दुबै खेलमा अंक बाँड्नु परेपछि हङकङ २ अंक सहित दोस्रो स्थानमा रहेको छ । 

आजको खेल जिते नेपाल यस समूहबाट एक खेल अगाबै सुपर ‘थ्री’मा पुग्ने छ । कुल ९ राष्ट्र सहभागी छनोटमा हरेक समूहका टोलीले एक आपसमा दुई पटक खेल्नेछन् । त्यसपछि प्रत्येक समूहको शीर्ष टोलीले ’सुपर थ्री’ चरणमा स्थान बनाउनेछ । 

सुपर थ्रीमा पुगेका तीन टोलीमध्ये शीर्ष दुई टोलीले महिला टी–२० विश्वकप २०२६ को ग्लोबल छनोटमा स्थान बनाउने छन् । अब नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा बिहीबार बहराइननको सामना गर्नेछ ।