आईपीएलका खेल आजदेखि फेरि सुरु हुँदै
- काठमाडौंभारत–पाकिस्तान युद्धका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलका खेल आजदेखि फेरि सुरु हुँदैछ । भारत र पाकिस्तानबीच युद्धविरामपछि आईपीएलका बाँकी खेल आजदेखि पुनः सुरु हुने भएको हो ।
यसअघि गत शुक्रबार भारतीय क्रिकेट बोर्ड बीसीसीआईको आकस्मिक बैठकले आईपीएल एक साताका लागि स्थगित गर्ने निर्णय भएको थियो । त्यसअघि बिहीबारको खेल चल्दै गर्दा बीचमै रोकिएको थियो ।
आजको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले कोलकाता नाइट राइडर्सको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुनेछ ।
अहिलेसम्म चेन्नाई सुपर किङ्स, राजस्थान रोयल्स र सनराइज हैदराबाद प्ले–अफको समीकरणबाट बाहिरिसकेका छन् । अब शीर्ष चार स्थानका लागि सात टिमबीच प्रतिस्पर्धा हुनेछ । अहिले शीर्ष दुई स्थानमा रहेका गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु प्ले–अफका लागि छनोट हुने संघारमा छन् ।
हाल गुजरात टाइटन्स ११ खेलमा १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । बेंगलुरु समान खेलमा समान अंकसहित दोस्रोमा छ भने पञ्जाब किङ्स ११ खेलमा १५ अंकसहित तेस्रोमा स्थानमा छ । मुम्बई इण्डियन्स १२ खेलबाट १४ अंकसहित चौथो स्थानमा रहेको छ ।