इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी
-मार्क कुकुरेल्लाको निर्णायक गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिज स्टेडियममा गएराति भएको खेलमा चेल्सीले म्यान युनाइटेडलाई १–० गोलले हराएको हो ।
चेल्सीको जितमा खेलको ७१ औं मिनेटमा कुकुरेल्लाले हेडर मार्फत गरेको गोल निर्णायक बन्यो । यो जितसँगै चेल्सीले अर्को सिजन च्याम्पियन्स लिग फुटबल खेल्ने आशा कायम राखेको छ ।
म्यान युनाइटेडलाई पराजित गर्दै चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । चेल्सीको ३७ खेलबाट ६६ अंक जोडेको छ । एक खेल कम खेलेको न्यूक्यासल युनाइटेडको समान ६६ अंक भएपनि गोल अन्तरका आधारमा तालिकाको तेस्रो स्थानमा रहेको छ । यो सिजन लिगमा कमजोर प्रदर्शन गर्दै आएको म्यान युनाइटेड ३७ खेलबाट ३९ अंकका साथ तालिकाको १६ औं स्थानमा रह्यो ।
यस्तै, लिगको अर्को खेलमा एस्टन भिल्लाले टोटनह्यामलाई २–० गोलले पराजित गरेको छ । टोटनह्याममाथि सहज जित हासिल गर्दै एस्टन भिल्लाले पनि च्याम्पियन्स लिगमा स्थान बनाउने आशालाई बलियो बनाएको छ ।
घरेलु मैदान भिल्ला पार्कमा गएराति सम्पन्न खेलमा एस्टन भिल्लाको जितमा एज्री कोन्साले खेलको ५९ औं र बोउबकार कामाराले ७३ औं मिनेटमा गोल गरे । यो जितपछि भिल्ला, म्याचेस्टर सिटीलाई उछिन्दै शीर्ष ५ मा पुगेको छ ।
भिल्लाको ३७ खेलबाट ६६ अंक भएको छ । एक खेल कम खेलेको सिटी ६५ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ । भिल्लाको घरेलु मैदानमा ११ खेलमा यो नवौं जित हो । यो सिजन लिगमा खराब अवस्थाबाट गुज्रिएको टोटनह्याम भने ३८ अंकका साथ तालिकाको १७ औं स्थानमा छ ।