खेलकुद

थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३१ खेलाडी छनोट

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले थाइल्याण्डविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि दोस्रो चरणमा ३१ जना खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ जना छनोट गरेका हुन् । 

प्रशिक्षक तामाङलाई थाइल्याण्ड भ्रमणसम्मको लागि मुख्य प्रशिक्षकको रुपमा राखिएको छ । दोस्रो चरणमा १७ जना खेलाडी बाहिरिएका छन् । छनोट प्रतियोगिताको तयारी स्वरुप नेपालले थाइल्याण्डसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ । 

पहिलो खेल बैंककमा यही मे ३० मा बन्द प्रशिक्षणमैत्री खेलको रुपमा हुनेछ भने दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आगामी जुन २ मा हुनेछ । थाइल्याण्डविरुद्धको दुई मैत्रीपूर्ण खेललाई एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ को छनोट तयारीको रुपमा हेरिएको छ । 

एएफसी महिला एसियन कप छनोटमा नेपाल रहेको समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तान छन् । छनोट चरणका खेलहरु आगामी जुन २३ बाट जुलाई ५ सम्म चल्नेछ । 

दोस्रो चरणमा गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, डिफेन्डरमा गीता राना, निशा थोकर, अमृता जैशी, पूजा राना, विमला विक, मिडफिल्डरमा रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, फरवार्डमा सावित्रा भण्डारी, रेखा कुमारी पौडेल, रश्मीकुमारी घिसिङ लगायत छनोट भएका छन् ।

३१ सदस्यीय टोली :

गोलकिपर – एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ , लिला जोशी ।

डिफेन्डर – गीता राना, निशा थोकर, अमृता जैशी, पूजा राना, विमला विक, मनमाया दमाई, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी, सविना चौधरी ।

मिडफिल्डर – रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सरस्वती हमाल, हेमा राउत, तुलसा बोहरा, विमला चौधरी, अनिता बस्नेत, सविता राना मगर, सुष्मा तामाङ ।

फरवार्ड – सावित्रा भण्डारी, रेखा कुमारी पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्र भण्डारी, मिना देउवा, ममता पुन र पूर्णिमा राई ।