नेपालले सुपर थ्रीको अन्तिम खेलमा थाइल्यान्डसँग खेल्दै
-नेपालले महिला टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोट अन्तर्गत सुपर ‘थ्री’को अन्तिम खेलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा बैंककमा खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ ।
नेपाल आजको खेल जित्दै एसिया च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । थाइल्यान्ड पनि यो खेल जित्दै एसिया छनोटको विजेताका रुपमा अघि बढ्ने योजनामा हुनेछ । नेपाल र थाइल्यान्ड दुबै टोली यसअघि नै एसिया क्षेत्र छनोट पार गर्दै ग्लोबल क्वालिफायरमा पुगिसकेका छन् ।
नेपाल समूह ‘सी’ र थाइल्यान्ड समूह ‘बी’को विजेताका रुपमा सुपर ‘थ्री’मा पुगेका थिए । सुपर ‘थ्री’मा नेपाल र थाइल्यान्डले संयुक्त अरब इमिरेट्स यूएईलाई पराजित गर्दै ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेका थिए ।
सुपर ‘थ्री’को पहिलो खेलमा थाइल्यान्डलले यूएईलाई ५४ रनले पराजित गरेको थियो भने नेपालले यूएईलाई ५ विकेटले हराएको थियो ।
नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराउँदा हङकङसँग भने पराजित भएको थियो । हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितसहित अगाडि बढेको थियो ।
सुपर ‘थ्री’मा यूएईसँगको खेलमा नेपालका लागि मनिषा उपाध्याले सर्वाधिक चार विकेट लिइन् । ब्याटिङमा कप्तान इन्दू बर्माले सानदार प्रदर्शन गरेपछि नेपाल विजयी भएको हो । प्रतियोगितामा थाइल्यान्डको ८ र नेपालको ७ अंक रहेको छ ।