खेलकुद

लुम्बिनी प्रदेशस्तरीय क्रिकेट सुरु, रुपन्देही २१७ रनले विजयी

- सन्जु पौडेलतिलोत्तमा

रुपन्देहीमा शुक्रबारदेखि लिला सेन्चुरी मेमोरियल लुम्बिनी प्रदेशस्तरीय यू–१६ छनोट क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा रुपन्देहीले नवलपरासी पश्चिमलाई २ सय ७१ रनको फराकिलो अन्तरले हराएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३५ ओभरको खेलमा ३३ ओभर एक बलमा सम्पूर्ण विकेट गुमाएर ३ सय १६ रनको स्कोर खडा गरेको थियो । रुपन्देहीका लागि कप्तान समीर अली मुसलमानले शतकीय इनिङ खेल्दै १ सय १८ बनाएका थिए । 

त्यस्तै, सिद्धार्थ ढकालले ५५ रन, आरिफ खान ले ४३ र रोजन कुमाल ले ३८ रनको उल्लेखनीय योगदान गरे । बलिङतर्फ नवलपरासीका विष्णु थाथरले ४, पन्चङ मिश्रा र सगर पाण्डे ले २-२ विकेट र आर्यन अलिले १ विकेट लिएका थिए ।

रुपन्देहीले दिएको ३१७ रनको लक्ष्य पछ्याएको नवलपरासी पश्चिमले फितलो ब्याटिङ गर्दै मात्रै १६ ओभरमा ४५ रन मात्र बनाउन सक्यो । नवलपरासीका प्रेम सागर यादवले १३ र आरोन जुङ गिरीले १२ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । रुपन्देहीका लागि लक्ष्मण कुमाल, प्रिन्स पाल र तुशार चौहानले २-२ तथा सोहेब हसन मुसलमान र सुप्रिम कँडेल ले १-१ विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच रुपन्देहीका समीर अलि मुसलमान घोसित भए । शनिबारको खेलमा पाल्पा र कपिलवस्तु भिडने संयोजक प्रथम पराजुलीले जानकारी दिनुभयो ।

यसअघि खेलको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले क्रिकेटमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गरिरहेकाले यसमा थप लगानी र खेलाडी उत्पादन जरुरी रहेको बताउनुभयो । क्रिकेटको हब बन्दै गएको लुम्बिनी प्रदेशमा सम्भावना बोकेका धेरै खेलाडी उत्पादन हुने र देशका लागि खेल्ने विश्वास लिएको जानकारी दिनुभयो ।