एनभीए भलिबल लिगको महिलातर्फ पुलिसको दोस्रो जित
- पोखरापोखरामा जारी एनभीए भलिबल लिगमा महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भर्खरै सम्पन्न खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो ।
पुलिसले कर्णालीलाई २५–५, २५–९ र २५–११ को सेटमा पराजित गरेको हो । कर्णालीको यो लगातार तेस्रो हार हो । यसअघि कर्णाली आफ्नो पहिलो खेलमा एपीएफ क्लब र दोस्रो खेलमा टिपटप न्यू डायमण्ड युथ स्पोटर्स क्लबसँग पराजित भएको थियो ।
पुलिसले भने आफ्नो पहिलो खेलमा बुटवलको एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । पुलिसले एभरेष्टलाई २५–२९, २५–१८ र २५–१८ ले हराएको थियो ।
प्रतियोगितामा आज पुरुषतर्फ ४ र महिलातर्फ अब २ खेल हुनेछन् । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी १४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता पुरुष तथा महिला दुवै टिमले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमलाई २ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ ।