खेलकुद

सुपर–६ कर्पोरेट कप क्रिकेट टुर्नामेन्ट जेठ १५ मा

- सन्जु पौडेलतिलोत्तमा

नेपाल राष्ट्र बैंकको रुपन्देही सिद्धार्थनगरस्थित प्रादेशिक कार्यालयको कर्मचारी संघले “सुपर–६ कर्पोरेट कप क्रिकेट टुर्नामेन्ट २०८२” आयोजना गर्ने भएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ सिद्धार्थनगर समितिले यही जेठ १५ देखि १७ गतेसम्म तीन दिने “सुपर–६ कर्पोरेट कप क्रिकेट टुर्नामेन्ट आयोजना गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । 

तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा डे/नाइटमा हुने टुर्नामेन्टमा लुम्बिनी प्रदेशस्तरीय बैंक, वित्तीय संस्था, बीमा कम्पनी, नेपाल टेलिकम लगायत ३३ वटा टिमको सहभागिता रहने कार्यक्रम संयोजक तथा नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष दिपक गौतमले जानकारी दिए । 

कार्यक्रमबारे जानकारी दिन आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गौतमले टुर्नामेन्ट सहभागी टिमलाई ११ समूहमा विभाजन गरिएको बताए । प्रतियोगिताका खेल लिग कम नकआउट दुबै फर्म्याटमा सञ्चालन हुनेछ । 

टुर्नामेन्ट सञ्चालनका लागि रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोग रहने आयोजकले जनाएको छ । प्रतियोगिताले वित्तीय क्षेत्रका कर्मचारीमाझ क्रिकेट खेलको क्रेज बढाउनुका साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको संघका अध्यक्ष गौतमले बताए । 

खेलकुदले आपसी भाइचारा र सम्बन्ध विस्तारमा पनि मद्दत पुर्‍याउने भएकाले यो प्रतियोगिता वित्तीय क्षेत्रका लागि एक महत्वपूर्ण इभेन्ट हुने उनको भनाई छ । प्रतियोगिताका विजेता टोलीले ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छन् । 

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले ७ हजार ७ सय ७७ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र, उत्कृष्ट ब्याट्म्यान, उत्कृष्ट बलर र प्रतियोगिताको अनुशासित टोलीले जनही ६ हजार ६ सय ६६ रुपैयाँ पाउने छन् ।

राष्ट्र बैंक सिद्धार्थनगर समितिले वित्तीय क्षेत्र लगायत अन्य कर्पोरेट संस्थाका कर्मचारीमाझ खेलकुदको भावना प्रवर्धन गर्ने उद्देश्यले टुर्नामेन्ट आयोजना गरिन लागेको आयोजकले जनाएको छ । यो प्रतियोगिताले वित्तीय संस्थाका कर्मचारीलाई एकै ठाउँमा भेला गराई सौहार्दपूर्ण वातावरणमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाई छ ।