टिप टप न्यु डायमन्ड एनभिए लिग भलिबलको फाइनलमा
-टिप टप न्यु डायमन्ड स्पोर्टस क्लब पिएम कप एनभिए लिग भलिबलको महिलातर्फ फाइनलमा पुगेको छ । आज भएको खेलमा नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराएसँग न्यु डायमण्डले फाइनल यात्रा पक्का गरेको हो । यो नतिजापछि साविक विजेता नेपाल पुलिस क्लब पनि फाइनलमा पुगेको छ । लगातारको चौथो जितपछि १२ अंकसहित न्यु डायमण्ड शीर्षस्थानमा छ ।
दोस्रो स्थानको पुलिसको ११ अंक छ । पुलिस र न्यु डायमण्ड यसपटकको काभा क्लब च्याम्पियन्सिपको लागि समेत छनोट भएका छन् । यसअघि आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सान्त्वना जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ । लिग चरणबाट बाहिरिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा आर्मीले कर्णाली प्रदेशमाथि ३–० को जित निकाल्यो ।
आर्मीले ४ अंकसहित पाँचौं स्थानमा रहँदै लिगको यात्रा टुंगाएको छ । कर्णाली प्रदेशले अंकको खाता नखोली पुछारमा रहेर लिग पूरा गर्यो । पर्सि बिहीवार हुने फाइनलमा न्यु डायमण्ड र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ कोशी प्रदेशलाई ३–२ ले हराउँदै नेपाल एपिएफ क्लबले दोस्रो जित निकालेको छ । अर्को खेलमा मणिमुकुन्दले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।