खेलकुद

नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपाल विश्वकप क्रिकेट लिग–२ को आफ्नो तेस्रो खेलमा घरेलु टोली स्कटल्यान्डसँग २ रनले पराजित भएको छ । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी गरेपनि नेपालले स्कटल्यान्डमाथि जित हात पार्न सकेन । 

जित नजिक पुगेको नेपाललाई डन्डीको फोर्टहिलमा स्कटल्यान्डले २ रनले पराजित ग¥यो । ३ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा सबै विकेट गुमाउँदै ३ सय २१ रनमा समेटियो । 

नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो रनको लक्ष्य पछ्याउने क्रममा विजयको नजिक पुगेर रोकिएको हो । सोमबार मात्र नेपालले स्कटल्यान्डमाथि नै २ सय ९७ रनको लक्ष्य पछ्याउँदै १ विकेटको जित हात पारेको थियो । 

दीपेन्द्र र सोमपाल दुवैले अर्धशतक पूरा गरे । दीपेन्द्रले ५६ र सोमपालले ६७ रन बनाए । सोमपालको एकदिवसीय अन्तर्राष्ट्रियमा यो उच्च स्कोर पनि हो । करण केसी १० बलमा १७ रन बनाई आउट भए । नेपालबाट भीम सार्कीले सर्वाधिक ७३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको चौथो अर्धशतक हो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ सय २३ रन बनाएको थियो । कप्तान रिची बेरिङटनले १ सय २ रन बनाए । बेरिङटनले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो छैटौं शतक बनाएपछि स्कटल्यान्डले नेपाललाई बलियो चुनौती तेस्र्याउन सफल भएको थियो । 

चार्ली टिएरले ६८ रन जोडे भने माइकल लिस्क ६२ बलमा ९६ रन बनाई अविजित रहे । उनले १२ चौका र ३ चौका प्रहार गरे । नेपालका लागि सोमपालले ९ ओभरमा ७५ र सन्दीपले १० ओभरमा ६९ रन खर्चिए । 

दीपेन्द्रले ७ ओभरमा ३७ रन खर्चेर २ र ललितले १० ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । पहिलो २ खेल जितेको नेपालले भोलि मंगलबार नेदरल्यान्ड्सविरुद्ध खेलेर लिग–२ को यात्रा टुंग्याउने छ । 

स्कटल्यान्डले ३ खेलमा दोस्रो जित हात पारेको हो । यो नतिजासँगै स्कटल्यान्ड २४ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । 

नेपाल १५ खेलमा १० अंकका साथ विश्वकप क्रिकेट ‘लिग–टू’ तालिकाको सातौं स्थानमा रहेको छ । अमेरिका २८ अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्यान्ड्स २२ खेलमा २६ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावत छ ।