खेलकुद

नेपाल एसिया कप फुटबल छनोटमा लाओससँग पराजित

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपाल एसिया कप फुटबल छनोटको आफ्नो तेस्रो खेलमा लाओससँग पराजित भएको छ । राजधानी भिएनटानस्थित नेसनल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली लाओससँग २–१ ले पराजित भएको हो । 

छनोट चरणमा नेपालको यो लगातार दोस्रो हार हो । लाओसविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पराजित भएको यो नै पहिलो पटक हो । लाओसले खेलको १३ औं र ४९ औं मिनेटमा गोल गरेको थियो । 

लाओसको जितमा दमोथ थोङखामसभाटले १३ औं मिनेटमा गोलको खाता खोले । खेलको ४९ औं मिनेटमा पिटर फाङ्थाभोङले दोस्रो गोल थपेका थिए ।

नेपालका लागि ७३ औं मिनेटमा मनीष डाँगीले पेनाल्टीबाट एक गोल फर्काए । त्यो हार टार्न पर्याप्त रहेन । नेपाल आफ्नो पहिलो खेलमा मलेसियासँग हारेको थियो ।

अब नेपालसामु समूहमा सम्मानजनक स्थितिमा रहन उच्च प्रदर्शन आवश्यक पर्नेछ । नेपाल दुई खेलबाट अंकविहीन हुँदा ४ टिम सम्मिलित समूहको पुछारमा झरेको छ । समूह ‘एफ’मा नेपालमात्र जितविहीन छ । 

समूहमा रहेका प्रत्येक टोलीले होम एण्ड अवेको आधारमा कुल ६ खेल खेल्नेछन् । समूह विजेताले २०२७ मा साउदी अरेबियामा हुने १९ औं एसियन कपमा स्थान बनाउनेछ ।