खेलकुद

टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्ड्सको सामना गर्दै

काठमाडौं

नेपालले त्रिदेशीय टी–२० आई क्रिकेट सिरिजको आफ्नो पहिलो खेलमा आज नेदरल्याण्ड्सको सामना गर्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल स्कटल्याण्डको ग्लासग्लोस्थित टिटउड मैदानमा बेलुका पौने ८ बजे सुरु हुनेछ । 

आइतबार सुरु प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्स र स्कटल्यान्डले प्रतिस्पर्धा गरेका थिए । टी–२० आई सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो । 

तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्ने छ । नेपाल तेस्रो पटक ट्वान्टी–२० विश्वकपमा पुग्ने आशमा स्कटल्यान्डमा तीनदेशीय टी–२० सिरिज खेलेको त्यसको तयारी गर्दैछ । 

अघिल्लो साता विश्वकप क्रिकेट लिग–२ मा उच्च प्रदर्शन गरेको नेपाली राष्ट्रिय टोली डन्डीबाट ग्लास्गो पुगेको हो । आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा एसिया–इस्ट एसिया प्यासिफिक क्षेत्रको विश्वकप छनोट हुँदैछ । 

नेपालसहित, ओमान, यूएई, जापान, कुवेत, मलेसिया, पपुवा न्युगिनी, कतार, समाओले यस छनोटमा प्रतिस्पर्धा गर्नेछ । शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछ ।