नेपाल टी–२० आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित
- काठमाडौंनेपाल त्रिदेशीय टी–२० आई शृंखला अन्तर्गतको आफ्नो पहिलो खेलमा पराजित भएको छ । स्कटल्यान्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा गएराति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो ।
निर्धारित २० ओभरको खेल बराबरी भएपछि त्यसपछिका दुई सुपर ओभरमा पनि बराबरी भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले बाजी मारेको हो । पहिलो सुपर ओभरमा पहिला ब्याटिङ गरेको नेपालले १ विकेट गुमाई १९ रन बनाएको थियो ।
नेदरल्यान्ड्सले पनि करण केसीले फालेको ओभरमा बिना विकेटको क्षतिमा १९ रन बनायो । दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रननै जोडेपछि खेल फेरि तेस्रोपटक सुपर ओभरमा गएको थियो ।
तेस्रो सुपर ओभरमा भने नेपालले रन नै जोड्न सकेन । पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए । रुपेश सिंह दुई बल डट खेलेर चौथो बलमा आउट भएपछि नेपालले कुनै रन बनाउन सकेन । माइकल लेभिटले पहिलो बलमै छक्का प्रहार गरेपछि नेदरल्यान्ड्सले खेल जितेको थियो ।
जितका १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । त्यसअघि टिटउड क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।
आइतबार सुरु प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्स घरेलु टोली स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो । तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र सर्वाधिक अंक बटुल्ने टोली बिजेता बन्ने छ ।