सुदूरपश्चिम रोयल्सद्वारा रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक
- काठमाडौंनेपाल प्रिमियर लिग क्रिकेट एनपीएलको साविक उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणका लागि रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ । सुदूरपश्चिम रोयल्सले आधिकारिक रुपमा रिटेन तथा रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम रोयल्सले समान ६–६ खेलाडीलाई रिटेन र रिलिज गरेको हो । टिम व्यवस्थापनले लामो रणनीतिक योजना अनुरुप टिमको ढाँचा मजबुत बनाउन र भविष्यका चुनौती सामना गर्न सो निर्णय लिएको बताइएको छ ।
साविक उपविजेता सुदूरपश्चिमले यसपटक पनि राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई मार्की खेलाडीको रुपमा कायम राखेको छ । ऐरीको अनुभव, कप्तानी क्षमता र खेलमा देखिएको निरन्तरता टोलीको मेरुदण्ड बन्ने अपेक्षा गरिएको छ ।
दिपेन्द्रसँगै, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई पनि रिटेन गरिएको छ । यी खेलाडीले अघिल्लो सिजन स्वदेशी खेलाडीको रुपमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई स्थायित्व दिँदै टिमलाई फाइनलसम्म पु¥याएका थिए ।
यसैबीच अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरिएको छ । यो निर्णय टोलीको दीर्घकालीन योजना, युवा खेलाडीको विकास र खेल संरचनामा आवश्यक सन्तुलनलाई ध्यानमा राखेर गरिएको सुदूरपश्चिम रोयल्सले जनाएको छ ।
सुदूरपश्चिम रोयल्सले आगामी दिनमा टोली निर्माण प्रक्रिया अझ सुदृढ बनाउँदै लैजाने जनाएको छ । सुदूरपश्चिम पहिलो सिजनको फाइनलमा जनकपुर बोल्टस् सँग पराजित भएको थियो ।