नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान जाँदै
- काठमाडौंएएफसी महिला एसिया कप छनोट खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आज उज्वेकिस्तान जाँदैछ । नेपाली राष्ट्रिय टोली आज दिउँसो उज्वेकिस्तानको तास्कन्द प्रस्थान गर्नेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाले हिजो एक कार्यक्रमबीच टोलीको बिदाई गरेको हो । नेपालले समूह ‘एफ’मा आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । हरेक समूहको विजेताले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछ ।
विदेशी प्रशिक्षक प्याट्रिक डे वाइल्डको प्रशिक्षणमा रहेको नेपाली टोलीले असार १५ मा लाओससँग छनोटको पहिलो खेल खेल्नेछ । त्यसपछि श्रीलंकासँग असार १८ मा र उज्वेकिस्तानसँग असार २१ मा प्रतिस्पर्धा गर्नेछ ।
यसअघि नेपाली महिला टोलीले लाओसविरुद्ध खेलेको छैन । श्रीलंकासँग खेलेका सबै ८ खेलमा जित निकालेको नेपालले उज्वेकिस्तानसँग भने खेलेका तीनै खेल हारेको छ । पछिल्लो पटक सन् १९९९ मा महिला एसियन कप खेलेको नेपाली महिला टोली २६ वर्षपछि एसिया कपमा छनोट हुने लक्ष्यमा छ ।
नेपाली महिला टोलीले तीन पटक एसियन कप खेलेको छ । पछिल्लो पटक सन् २०२२ मा छनोट खेले पनि नेपाल छनोट हुन सकेन । एसियन कप २०२६ मार्चमा अस्ट्रेलियामा आयोजना हुँदैछ । प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् ।
नेपाली महिला फुटबल टोलीको गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अन्जना राना मगर छन् भने डिफेन्डरमा गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाइ, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी छन् ।
यस्तै, मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल टोलीमा समावेश छन् ।