खेलकुद

नेकोस कप भलिबलको फाइनलमा एपीएफ र न्यू डायमण्ड भिड्ने

- सुवास विडारीमकवानपुर

नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र न्यू डायमण्ड क्लब भिड्ने भएका छन् । हेटौंडा–४ स्थित हुप्रचौर कोर्टमा मंगलबार बिहान भएको सेमिफाइनलमा सहज जित हात पार्दै एपीएफ र न्यू डायमण्डले फाइनलको यात्रा तय गरेका हुन् । 

यसअघि यी दुवै टोली उद्घाटन खेलमा प्रतिस्पर्धा गरेका थिए । सो खेलमा न्यू डायमण्ड विजयी भएको थियो । सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल प्रहरी क्लब र न्यू डायमण्डले गण्डकी प्रदेशलाई पराजित गरेको थियो । 

एपीएफले पुलिसलाई २५–२१, २५–१८ र २५–२१ को सेटमा पराजित गरेको थियो । न्यू डायमण्डले गण्डकीलाई २५–१५, २५–११ र २५–१६ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । 

समूह ‘क’ बाट विजेताको रुपमा पुलिस र उपविजेताको रुपमा गण्डकीले नकाउट चरणमा प्रवेश गरेका थिए । समूह ‘ख’बाट न्यू डाइमण्ड विजेता बन्दा एपीएफले उपविजेताको रुपमा अगाडि बढ्न बाध्य भएको थियो । 

प्रतियोगिताका फाइनल खेल बुधबार हुनेछन् । ६ टोलीको सहभागी प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँसहित ट्रफी जित्नेछन् ।