खेलकुद

बेनफिका क्लब विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

बायर्न म्युनिकलाई पराजित गर्दै बेनफिका फिफा क्लब विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘सी’को खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै बेनफिका समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो । 

बेनफिकाले बायर्न म्युनिकलाई १–० ले पराजित गरेको हो । बेनफिकाका लागि १३ औं मिनेटमा आन्द्रेस सेल्डरुपले गरेको एकमात्र गोल निर्णायक बन्यो । बेनफिकाको तीन खेलबाट सात अंक भएको छ । बायर्न भने ६ अंकसहित समूहको दोस्रो स्थानमा रह्यो ।

बेनफिकाको हातबाट प्रतिस्पर्धात्मक खेलमा बायर्न पराजित भएको यो नै पहिलो पटक हो । यो खेल अगाडि नै बायर्नको नकआउट चरण प्रवेश निश्चित भइसकेको थियो । 

यसै समूहको अर्को खेलमा अकल्यान्ड सिटीले बोका जुनियर्सलाई १–१ गोलको बराबरीमा रोकेको छ । यो नतिजासँगै दुबै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।