डर्टमन्ड फिफा क्लब विश्वकप फुटबलको नकआउट चरणमा
- काठमाडौंजर्मनीको बोरुसिया डर्टमन्ड फिफा क्लब विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । आज बिहान भएको समूह ‘एफ’को खेलमा डर्टमन्डले दक्षिण कोरियाको उल्सान एच डी लाई १–० गोलले हराएको हो ।
डर्टमन्डले समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । ड्यानिएल स्भेन्सनले खेलको ३६ औं मिनेटमा गरेको एक मात्र गोल डर्टमन्डको जितमा निर्णायक बन्यो । उसको तीन खेलबाट सात अंक भएको छ ।
फ्लुमिनेसले भने समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ । उसले सनडाउन्सलाई गोलरहित बराबरीमा रोक्यो । सनडाउन्स चार अंकमै सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ । उल्सान भने शून्य अंकमै रह्यो ।
यस्तै, चेल्सी पनि फिफा क्लब विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । चेल्सीले समूह ‘डी’को खेलमा ट्युनिसियाको इस्पेरेन्सलाई ३–० ले हराएर नकआउट चरणको यात्रा तय गरेको हो ।
चेल्सीले अब अन्तिम १६ मा बेन्फिकाको सामना गर्नेछ । पोर्चुगलको बेन्फिकाले भने बायर्न म्युनिखलाई १–० ले पराजित गर्दै यो चरणको यात्रा निश्चित गरेको हो । यो जितसँगै बेन्फिकाले समूह ‘सी’ पनि जितेको छ ।