खेलकुद

एसीसी मेन्स यू–१६ इस्ट जोन कपः इण्डोनेसिया नेपालसँग ३७० रनले पराजित

- केएफएम डेस्ककाठमाडौं

नेपाल मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । आज भएको खेलमा इण्डोनेसियालाई ३ सय ७० रनले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । ४ सय २१ रनको लक्ष्य पछ्याएको इण्डोनेसिया २४ ओभर ३ बलमा ५० रनमा अलआउट भयो ।

 इण्डोनेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान विपिन प्रसाद शर्माले ७ ओभर ३ बलमा १२ रन खर्चिएर ६ विकेट लिए । शुभम खनाल र सुगम बुढाथोकीले समान १ विकेट लिए । त्यसअघि इण्डोनेसियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर ४ सय २० रन बनाएको थियो ।

 नेपालका लागि ओपनर प्रसिद्ध जैसीले १ सय १४ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ३२ रनको शतकीय इनिङ खेले । पहिलो विकेटका लागि ओपनर प्रसिद्धले अर्का ओपनर परिमार्जन यादवसँग ६२ बलमा १ सय ३२ रनको विशाल साझेदारी गरे । हारसँगै इण्डोनेसिया एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो । अब नेपालले चौथो तथा समूह चरणको अन्तिम खेल पर्सि मंगलवार भुटानसँग खेल्नेछ ।