खेलकुद

एसीसी मेन्स यू-१६ इस्ट जोन कप : नेपालले भुटानको सामना गर्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ । क्वालालम्पुरमा टस जित्दै नेपालले ब्याटिङ रोजेर भुटानलाई फिल्डिङको निम्तो दिएको हो । 

नेपाली टोली अघिल्ला तीन खेलमा लगातार जित निकाल्दै अविजित छ । आइतबार इन्डोनेसियालाई ३ सय ७० रनको ठूलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगिसकेको छ । 

नेपाल रहेको समूह समूह ‘ए’को सिंगापुर पनि तीन जित र एक हारसहित सेमिफाइनलमा पुगिसकेको छ । समूहमा नेपालसहित जापान, सिंगापुर, इन्डोनेसिया र भुटान रहेका छन् । 

भुटान समूह ‘ए’को सबैभन्दा कमजोर हो । भुटान यसअघिका तीनै खेलमा पराजित भएको थियो । आइतबार इन्डोनेसियालाई ४२१ रनको लक्ष्य दिएको नेपालले भुटानविरुद्ध पनि त्यस्तै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

नेपाल तीनै खेल जितेर ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो । सिंगापुरले ४ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । जापान र इन्डोनेसियाको २–२ अंक छ भने भुटान अंकविहीन छ । प्रतियोगिताको फाइनल खेल असार २१ मा हुनेछ ।