खेलकुद

नेपालले एएफसी महिला एसियन कप छनोटमा श्रीलंकासँग खेल्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपालले एएफसी महिला एसियन कप फुटबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज श्रीलंकाको सामना गर्दैछ । खेल उज्बेकिस्तानको तास्केन्तस्थित स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । 

छनोट अन्तर्गत समूह ‘जी’ मा नेपाल र आयोजक उज्वेकिस्तानले आ–आफ्नो पहिलो खेलमा अपेक्षित ठूलो अन्तरको जित निकालेको छ । नेपालले पहिलो खेलमा लाओसमाथि ९–० गोलको फराकिलो जित निकालेको थियो भने उज्वेकिस्तानले श्रीलंकामाथि १० गोलले हराएको थियो । 

नेपाल पहिलो खेलकै लयलाई कायम राख्ने लक्ष्यमा छ । नेपालका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड र कप्तान सावित्रा भण्डारीका लागि यो सुखद सुरुआत रह्यो । नेपाली महिला टोलीको एक सय औं अन्तर्राष्ट्रिय खेल समेत रहेको सो खेलमा नेपालको नयाँ कप्तानको रुपमा सावित्रा भण्डारीले जिम्मेवारी सम्हालेकी थिइन् ।

पहिलो खेलमा नेपालले नियमित गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बेन्चमा राख्दै अन्जना राना मगरलाई खेलाएको थियो भने सरस्वती हमाललाई पहिलो रोजाइमै डेब्यू गराएको थियो । 

नेपालले सन् २०१० मा पहिलो पटक श्रीलंकाको सामना गरेको थियो । सो खेलमा नेपालले श्रीलंकालाई ८–१ गोलले हराएको थियो । त्यसयता नेपाल र श्रीलंकाले एक आपसमा नौपल्ट खेलेकोमा सबै खेलमा नेपाल विजयी भएको छ । 

फिफा वरियतामा नेपाल एक सय औं तथा श्रीलंका १५९ औं स्थानमा छन् । आजै हुने अर्को खेलमा आयोजक उज्वेकिस्तान लाओसविरुद्ध खेल्नेछ । समूह विजेता अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपका लागि छनोट हुनेछ ।