नेपालले जितका लागि पायो १ सय १४ रनको सामान्य लक्ष्य
- काठमाडौंमलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले जितका लागि १ सय १४ रनको सामान्य लक्ष्य पाएको छ । टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० ओभर ५ बलमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो ।
सिंगापुरका लागि ओपनर रोहन अस्टीन अरुणले सर्वाधिक २३ रन बनाए । कप्तान रिहान नाइकले १५ रन बनाउँदा वेदान्श गुप्ताले १२ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सिंगापुरलाई सस्तैमा समेट्न नेपालका अभय यादव र शुशिलबहादुर रावलले ३÷३ विकेट लिए । शुभम खनालले २ र कप्तान विपिन प्रसाद शर्माले १ विकेट हात पारे । नेपाल अहिले जवाफी ब्याटिङमा छ ।
बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको थियो भने हङहङलाई हराउँदै सिंगापुरले नेपालसँग उपाधि भीडन्त पक्का गरेको थियो ।
नेपाल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो । सिंगापुर भने नेपालकै समूहबाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । नेपालले अघिल्लो संस्करणको उपाधि जितेको थियो ।