खेलकुद

नेपालले साफ यू-२० महिला च्याम्पियनसिपको निर्णायक खेलमा बंगलादेशको सामना गर्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपालले साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको अन्तिम तथा निर्णायक खेलमा आज आयोजक बंगलादेशको सामना गर्ने भएको छ । नेपाल र घरेलु टोली बंगलादेशबीचको खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । 

यस खेलपछि साफ यू–२० को यस संस्करणको विजेताको टुंगो लाग्नेछ । नेपाल घरेलु टोली बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य छ । त्यसअघि हुने खेलमा भुटान र श्रीलंका भिड्ने छन् । 

हालको अवस्थामा बंगलादेश सहज अवस्थामा छ भने नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेशले बराबरी मात्र खेलेपनि उपाधिका लागि पर्याप्त हुनेछ भने नेपाललाई जितको विकल्प हुने छैन ।

लिग चरणको पहिलो भेटमा अतिरिक्त समयको अन्तिम सेकेन्डमा बंगलादेशले गोल गरेपछि नेपालले ३–२ ले पराजित भएको थियो । बंगलादेशले यसअघि खेलेको पाँचवटै खेल जितेको छ । 

अन्तिम दिनको खेल अगाडि बंगलादेशको १५ अंक छ भने नेपालको १२ अंक रहेको छ । नेपालले भुटान र श्रीलंकालाई दुई–दुई खेलमा हराउँदा बंगलादेशसँग भने पराजित भएको थियो । गोल अन्तरमा भने नेपाल धेरै अगाडि छ । 

प्रतियोगितामा नेपालले ३० गोल गरेको छ भने चारै गोल मात्र खाएको छ । बंगलादेशले पनि समान चारै गोल मात्र खाएको छ भने २४ गोल गरेको छ । चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फम्र्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।