नेपालले विश्व एक्वाटिक च्याम्पियनसिपमा प्रतिस्पर्धा
-नेपालका चार पौडी खेलाडीले सिंगापुरमा हुने विश्व एक्वाटिक च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपका लागि ६ सदस्यीय नेपाली टोली गएराति सिंगापुर प्रस्थान गरेका छन् ।
प्रतियोगितामा नेपालका २–२ पुरुष÷महिला खेलाडीले भाग लिने छन् । चारै खेलाडीले २–२ स्पर्धामा भाग लिने नेपाल पौडी संघले जनाएको छ । पुरुषमा इर्भिन श्रेष्ठले १ सय र २ सय मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन् ।
महिलातर्फ ओलम्पियन डुवाना लामाले २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य विकास शर्मा र प्रशिक्षकमा शंकर कार्की छन् ।
प्रतियोगिता अगस्ट ३ तारिखसम्म चल्ने छ । नेपालको खेल भने जुलाई २७ देखि मात्र सुरु हुने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिनुभयो ।
जुलाई २७ मा अजलले ५० मिटर बटरफ्लाइ, २८ मा डुवानाले १ सय मिटर ब्रेस्टस्ट्रोक र इर्भिनले २ सय मिटर फ्रिस्टायल तथा २९ मा डुवानाले २ सय मिटर फ्रिस्टायलमा खेल्ने तालिका छ । जुलाई ३० मा इर्भिनले १ सय मिटर फ्रिस्टायल, ३१ मा आर्याले १ सय मिटर फ्रिस्टायल, अगष्ट १ मा अजलले ५० मिटर फ्रिस्टायल र २ मा आर्याले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।