एन्फा यु–१६ युथ लिमा चर्च ब्वाइज र संकटाको बराबरी
- काठमाडौंललितपुरमा जारी एन्फा यु–१६ युथ लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लबले अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा चर्च ब्वाइज र संकटाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको १९औं मिनेटमा स्वप्नी दर्लानको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिए पनि ६०औं मिनेटमा पेम्बा तामाङले पेनाल्टीमार्फत गोल गर्दै संकटालाई बराबरीमा ल्याए । त्यसपछि अप्सन गुरुङले ७६औं मिनेटमा गोल गर्दा चर्च ब्वाइज २–१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा संकटाका प्रजलकुमार लुम्रेले गोल गर्दै खेल बराबरीमा फर्काए । यो नतिजासँगै ९ खेलबाट १९ अंक जोडेको संकटा दोस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाइज समान खेलबाट १४ अंकका साथ सातौं स्थानमा छ ।
यसअघि आजै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले विभागीय टोली एपिएफ क्लबलाई ३–१ ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा फ्रेन्ड्सलाई जित दिलाउन मन्दीप ढुंगेलले २ तथा प्रभात बिसीले एक गोल गरे । एपिएफका लागि असिम खड्काले गोल गरे । जितसँगै फ्रेन्ड्सको १९ अंक भएको छ । एपिएफ १५ अंकका साथ छैटौं स्थानमा छ ।