एन्फा यु–१६ युथ लिग फुटबलः त्रिभुवन आर्मी मछिन्दसँग ५–० ले पराजित
- काठमाडौंएन्फा यु–१६ युथ लिग फुटबलमा मछिन्द्र क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मछिन्द्रले आर्मीलाई ५–० गोलले हराएको हो । खेलको छैटौं मिनेटमा अर्जुनबहादुर कडायतको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो ।
तीन मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा प्रज्ञान राईले टोलीका लागि तेस्रो गोल गरे । ७७औं मिनेटमा हिमाल थिङले गोल गर्दा मछिन्द्रको अग्रता ४–० मा पुग्यो । खेलको इन्जुरी समयमा विकास थापाले गोल गर्दै मछिन्द्रलाई ५–० को सानदार जित दिलाए ।
जितसँगै ९ खेलमा २० अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । आर्मी समान खेलबाट ६ अंकका साथ १२औं स्थानमा छ ।