खेलकुद

एन्फा महिला लिग छनोटको खेल तालिका सार्वजनिक

- केएफएम डेस्ककाठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले महिला लिग फुटबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार साउन २७ मा हुने उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रिएलेबीच प्रतिस्पर्धा हुनेछ ।

सो खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा साढे १२ बजे सुरु हुनेछ । एन्फाले आज सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गर्दै महिला लिग छनोटको खेल तालिका सार्वजनिक गरेको हो । समूह ए मा चर्च ब्वाइज युनाइटेड एफसी, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल र एफसी रिएले छन् ।

यस्तै समूह बी मा एनआरटी, संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबीएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर, नेपाल खेलकुद क्लब छन् । यसअघि असार पहिलो साता एन्फाले महिला लिग छनोट खेल्ने १६ टिमको नाम सार्वजनिक गरेको थियो । सो सूचीमा रहेकामध्ये चित्लाङ एफसी र कन्काइ स्पोट्र्सले नाम फिर्ता लिएका छन् ।