एएफसी यू-२० महिला एसियन कप छनोट भुटानमा आज सुरु हुँदै
- काठमाडौंएएफसी यू–२० महिला एसियन कप फुटबल छनोट प्रतियोगिता भुटानमा आजदेखि सुरु हुँदैछ । समूह ‘ए’मा रहेको नेपालले घरेलु टोली भुटानसँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ । खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ ।
नेपाल रहेको समूह ‘ए’मा आयोजक भुटान, साउदी अरेबिया र पूर्व च्याम्पियन उत्तर कोरिया रहेका छन् । प्रशिक्षक याम प्रसाद गुरुङले मंगलबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा टिमको तयारी सन्तोषजनक रहेको बताएका छन् ।
उनले नेपालको उद्देश्य एएफसी वुमेन्स एसिया कप यू–२० मा छनोट नै रहेको बताए । साफ यू–२० को अनुभवले पनि नेपाली टिमलाई अबको प्रतियोगिताका लागि तयारी गर्न सहयोग पुगेको प्रशिक्षक गुरुङको भनाई छ ।
बंगलादेशमा गत जुलाईमा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । त्यसबेला नेपाल घरेलु टोली बंगलादेशसँग दुवै खेलमा पराजित भएको थियो । नेपालले भुटानलाई भने दुवै खेलमा सहजै पराजित गरेको थियो ।
कप्तान बिर्सना चौधरीले पनि प्रतियोगितामा सहभागी सबै टोली प्रतिस्पर्धात्मक भए पनि नेपाली टिम पनि सशक्त तयारीसहित मैदानमा उत्रने बताएकी छन् ।
यस्तै, आजै हुने पहिलो खेलमा बलियो टोली उत्तर कोरियाले साउदी अरेबियाको सामना गर्नेछ । नेपालले समूहको दोस्रो खेल अगष्ट ८ मा साउदी अरेबियासँग खेल्नेछ भने अन्तिम खेल अगष्ट १० मा उत्तर कोरियाको सामना गर्नेछ ।
छनोटमा कुल ८ समूह रहेको छ । प्रत्येक समूह विजेता एसिया कपका लागि छनोट हुनेछ । प्रत्येक समूहको दोस्रो स्थानमा रहने टिममध्ये उत्कृष्ट तीन टिम पनि छनोट हुनेछ ।