कान्तिपुर म्याक्सले इपीएलको प्रत्यक्ष प्रसारण गर्ने
- काठमाडौंइंग्लिस प्रिमियर लिग ईपीएल फुटबलका खेलहरु कान्तिपुर म्याक्स टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । हिजो काठमाडौंमा आयोजित पत्रकार सम्मेनलमा कान्तिपुर मिडिया ग्रुपका सीईओ महेश स्वाँरले विश्वको सबैभन्दा लोकप्रिय लिग कान्तिपुरमा प्रत्यक्ष प्रसारण गर्न लागिएको जानकारी गराउनुभयो ।
कान्तिपुर टेलिभिजन यसअघि इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल क्रिकेट र विम्बल्डन टेनिसको पनि प्रत्यक्ष प्रसारण गरेको थियो । कान्तिपुर म्याक्सले खेलकुदमा आफ्नो दायरा बढाउँदै गएको भन्दै स्वाँरले सबै नेपालीलाई हेर्न सहज होस् भनेर ईपीएल कान्तिपुरमा देखाउन लागिएको बताउनुभयो ।
कान्तिपुरले ईपीएलका खेल ई–कान्तिपुर एप, कान्तिपुर टेलिभिजन एप, कान्तिपुर टिभी डटकम र अब आउन लागेको कान्तिपुर म्याक्सको एपबाट प्रत्यक्ष प्रसारण गरिने जनाएको छ । कान्तिपुर टेलिभिजनले प्रिमियर लिग आयोजना गर्न युनिलिभर नेपाल लिमिटेडसँग सम्झौता पनि गरेको छ ।
कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसी र युनिलिभरका प्रमुख फाइनान्स अफिसर आयुश शर्माले सम्झौतामा हस्ताक्षर गर्नुभयो । युनिलिभरको क्लियर स्याम्पु कान्तिपुरमा देखाइने प्रिमियर लिगमा प्रमुख प्रायोजकको रुपमा रहनेछ ।
युनिलिभरका प्रबन्ध निर्देशक अल्मान मुखर्जीले क्लियर स्याम्पु महिला विश्वकप फुटबलमा आबद्ध रहेको र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो ब्रान्ड एम्बासडर रहेको जानकारी गराउनुभयो ।
ईपीएल विश्व खेलकुदमा सबैभन्दा बढी हेरिने फुटबल प्रतियोगिता रहेको छ । पर्सि शुक्रबार राति हुने उद्धघाटन खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल र बर्नमाउथबीच प्रतिस्पर्धा हुनेछ ।