खेलकुद

साफ यू–१७ च्याम्पियनसिप फुटबलः आज नेपाल र बंगलादेश खेल्दै

- केएफएम डेस्ककाठमाडौं

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा आज नेपाल र दुई पटकको विजेता बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । 

कोलम्बोस्थित रेसकोर्स ग्राउण्डमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा नेपालले दोस्रो र बंगलादेशले पहिलो खेल खेल्न लागेका हुन् । आजको खेल जितेमा नेपाल समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल पुग्नेछ । यसअघि आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकामाथि २–० को जित निकालेको थियो । बंगलादेश जितका साथ प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा हुनेछ । 

समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश छन् । शीर्ष दुई टोली सेमिफाइनल पुग्ने भएकाले आजको नतिजाले समीकरणमा प्रभाव पार्नेछ । अर्को समूह ‘बी’ मा भारत र पाकिस्तानले आ–आफ्नो पहिलो खेल जितिसकेका छन् । त्यो समूहमा माल्दिभ्स र भुटान पनि छन् । भारत च्याम्पियनसिपको सर्वाधिक सफल टोली एवं ६ पटकको च्याम्पियन हो भने बंगलादेशले २ र पाकिस्तानले १ पटक उपाधि जितेका छन् । नेपालले भने चार पटक फाइनल खेल्दा पनि उपाधि उचाल्न सकेको छैन ।