राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान
- काठमाडौंवेस्ट इन्डिजविरुद्ध हुने तीन टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स यूएई प्रस्थान गरेको छ ।
टोली केहीबेर अघि यूएईतर्फ गएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले टी–२० मा पहिलो पटक वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।
पूर्ण राष्ट्रविरुद्ध नेपालले पहिलो पटक टी–२० शृंखला खेल्दै छ । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो ।
वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा शारजहाँमा खेलेपछि नेपाली टोली टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न ओमान जाने छ ।
आदिल आलम अन्सारी र सन्दीप जोरालाई समावेश गर्दै नेपालले यसअघि नै १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
अस्ट्रेलिया भ्रमण गुमाएका स्पिनर ललित राजवंशी पनि टोलीमा फर्किसकेका छन् । त्यसैले नेपालले यसलाई टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटको तयारीको रुपमा लिएको छ ।
गत अप्रिलमा वेस्ट इन्डिज ‘ए’ को टोली नेपाल भ्रमण आएर ५ खेलको सिरिज ३–२ ले जितेको थियो ।