एसीया कप क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने
-दुबइमा जारी एसीसी मेन्स टी–ट्वान्टी एसीया कप क्रिकेटको उपाधिका लागि दक्षिण एसियाका मुख्य दुई टोली भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।
सुपर फोर समिकरणमा गएराति पाकिस्तानले बंगलादेशलाई ११ रनले पराजित गरेपछि भारतसँगको उपाधि भिड्न्त तय भएको हो । टस हारेर ब्याटिङ सुरु गरेको पाकिस्तानले दिएको १ सय ३६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा बंगलादेश १ सय २४ रनमा समेटिएपछि पाकिस्तानले सुपर फोर समिकरणको दोस्रो स्थानमा रहँदै उपाधि यात्रा तय गरेको हो ।
जारि प्रतियोगितामा अपराजित रहेको भारत भने एक खेल अगावै फाइनलमा पुगिसकेको टोली हो । भारतले सुपर फोर समिकरणको पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा बंगलादेशलाई पराजित गरेको थियो ।
यसैबीच सुपर फोर समिकरणमा जितविहीन रहेको श्रीलङ्का र फाइनल पुगिसकेको भारतबीच प्रतिस्पर्धा हुँदै छ । सो खेल राति सवा ८ बजे सुरु हुनेछ । आजको खेलको नतिजाले सुपर फोर समिकरणमा कुनै प्रभाव पर्ने छैन । यद्यपि जितविहीन रहेको श्रीङ्कालाई २ अंक जोड्ने मौका रहँदा भारतलाई आफ्नो अपराजित यात्रा कायम राख्नुपर्ने चुनौती हुनेछ । फाइनल खेल आगामी आइतबार हुनेछ ।