एसिया कपको उपाधिका लागि इण्डिया र पाकिस्तान भिड्दै
- काठमाडौंएसिया कप क्रिकेटको फाइनलमा आज इण्डिया र पाकिस्तान उपाधिका लागि भिड्दै छन् । एसिया कपको १७ औं संस्करणसम्म आइपुग्दा इण्डिया–पाकिस्तान पहिलो पटक फाइनलमा आमने–सामने हुन लागेका हुन् ।
दुवईस्थित दुवई अन्तर्राष्ट्रिय स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ । गत बिहीबार बंगलादेशलाई हराएसँगै पाकिस्तान एसियाकपको फाइनलमा पुगेको हो ।
टी–२० फम्र्याटमा भइरहेको खेलको समूह चरण र सुपर ४ मा इण्डियाले बाजी मारेको थियो । इण्डिया अपराजित हुँदै फाइनल प्रवेश गरेको हो भने पाकिस्तानले समूह चरण र सुपर चारमा इण्डियासँगै हार बेहोरेको थियो ।
फाइनलमा इण्डिया जितको उच्च मनोबलसहित उत्रिनेछ भने पाकिस्तान यसअघिका हारको बदला लिने मनसायका साथ उत्रिनेछ । इण्डिया र पाकिस्तानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा फाइनल खेल १३ औं पटक हुँदैछ ।
यसअघि भएका १२ फाइनलमा ८ पटक पाकिस्तान र ४ पटक इण्डियाले जित निकालेको थियो । २०१७ को आईसीसी च्याम्पियन्स फाइनलमा दुवै टिमले अन्तिमपटक उपाधिका लागि भिडेका थिए ।
सो प्रतियोगितामा पाकिस्तानले बाजी मारेको थियो । इण्डियालाई पाकिस्तानविरुद्ध कुनै पनि प्रणालीको उपाधि भिडन्तमा अन्तिम पटक सन् २००७ मा जित मिलेको थियो ।